Free reading facility at TU online Library (त्रिविको अनलाइन पुस्तकालयमा निःशुल्क पढ्ने सुविधा)

TU-Central-Library

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक सकिने सुविधा दिन थालेको छ । देशकै जेठो विश्वविद्यालय अन्तर्गत रहेको केन्द्रीय पुस्तकालयले विद्यार्थीहरुका लागि निःशुल्क अनलाइन लाइब्रेरी सञ्चालनमा ल्याएको हो ।

पुस्तकालयले रिमोट एक्सेस प्रणालीमार्फत अनलाइनबाटै पुस्तक, डकुमेन्ट, जर्नल आदि सामग्री पढ्न सकिने व्यवस्था मिलाएको छ । जसका लागि रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयर जडान गरिएको छ ।

पुस्तकालयले यसका लागि ३२ लाख रुपैयाँमा बेलायतबाट सफ्टवेयर खरीद गरेको छ । त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीले समेत पुस्तकालयको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयरबाट निःशुल्क पुस्तक पढ्न पाउने छन् ।

जसमा विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेख, रचना लगायतका सामग्री रहेका छन् । यी सामग्री निःशुल्क रुपमा पढ्नका लागि विद्यार्थीले यहाँ क्लिक गरी पुस्तकालयको वेबसाइटमा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेको आधारमा विद्यार्थीलाई ईमेल आईडी उपलब्ध गराइनेछ ।

गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजारभन्दा धेरै विद्यार्थीको ईमेल आइडी बनिसकेको छ । पुस्तकालयका अनुसार डेटाबेसमा चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारौँ जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।

त्रिविको अनलाइन पुस्तकालयमा हालसम्म नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनीयरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा आवद्ध भइसकेका छन् । पुस्तकालयले पछिल्लो समय एसियन विकास बैंक र नेसनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग समेत थप सामग्रीका लागि सम्झौता गरेको छ ।

जसनुसार एसियन विकास बैंकसँग रहेका तीन लाख पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख पुस्तक, जर्नल, थेसिस, अडियो, भिडियो सामग्री निःशुल्क रुपमा उपलब्ध हुनेछन् । हाल त्रिवि केन्द्रीय पुस्तकालयमा चार लाख दश हजार पुस्तक छन् ।

जसलाई आफ्नो छुट्टै ई-पुस्तकालयको रुपमा डेटाबेस तयार पार्ने योजनामा केन्द्रीय पुस्तकालय अगाडि बढेको छ । स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधी तहका शोधपत्रलाई समेत अनलाइनमा राखिने बताइएको छ । जसअनुसार अहिलेसम्म दुई हजार शोधपत्रलाई डिजिटल रुप दिइसकिएको छ ।

 

via: techpana

Related posts

Leave a Comment